पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौं ।

मोतिदेवी स्मृति केन्द्रको अध्यक्ष श्री अष्टलक्ष्मी शाक्य,

आज सम्मानित हुनु भएका अग्रणी महिला व्यक्तित्वहरू,

मोतिदेवी स्मृति केन्द्रका पदाधिकारीहरू,

सञ्चारकर्मीहरू,

उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।

११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा मोतीदेवी स्मृति केन्द्रद्वारा सामाजिक जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका सफल तथा प्रेरणादायी महिलाहरूलाई सम्मान गर्नुका साथै उहाँहरूको जीवनीमा आधारित वृत्तचित्र सार्वजनिक गरिएको यस महत्वपूर्ण कार्यक्रमको आयोजनाका लागि म हार्दिक प्रशंसा व्यक्त गर्न चाहन्छु ।

यसका साथै, लोकतान्त्रिक व्यवस्थाको पुनःस्थापनाका लागि आफ्नो अमूल्य जीवन देश र जनताको सेवामा समर्पित गर्ने भूमिगत महिलाहरूलाई सम्मान गर्दै उहाँहरूको जीवनसंघर्ष र योगदानलाई समेटेर तयार पारिएको पुस्तक ‘वर्गीय मुक्ति, लैंगिक समानता र सामाजिक न्यायको योद्धा भूमिगत महिला’ प्रकाशन गर्नु अत्यन्त सराहनीय र ऐतिहासिक कार्य हो ।

समाजको प्रगतिशील रूपान्तरण तथा लोकतान्त्रिक प्रणालीको पुनःस्थापनाका लागि भूमिगत राजनीतिको माध्यमबाट महिलाहरूले पुर्‍याएको महत्वपूर्ण योगदानलाई सम्मानित गर्ने र अभिलेखीकरण गर्ने यस्ता पहलहरूले भावी पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै, यस महत्वपूर्ण कार्यका लागि मोतीदेवी स्मृति केन्द्रलाई म हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्दछु ।

हामी प्रायः मन्दिरको टुप्पोमा चम्किएको गजुरलाई देख्छौँ र त्यसको भव्यतालाई मात्र प्रशंसा गर्छौँ । तर त्यो मन्दिर उभिनका लागि गहिरो जग खन्ने मेहनती हातहरू पनि हुन्छन् भन्ने सत्यलाई हामीले कहिल्यै बिर्सनु हुँदैन ।

गजुर जति उज्यालो देखिए पनि त्यसलाई थामेर राख्ने जग खन्दा पसिना बगाउने हातहरूको पौरख र योगदान सदा स्मरणीय र सम्मानित हुन्छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा तीस र चालिसको दशकतिर पञ्चायती निरंकुशताको अन्त्य गर्दै वर्गीय मुक्ति, लैंगिक समानता र सामाजिक न्यायको लक्ष्य प्राप्तिका लागि जनतालाई सचेत र संगठित गर्ने उद्देश्यले भूमिगत रूपमा सयौँ देशभक्त, राष्ट्रवादी तथा प्रगतिशील सोच भएका जागरुक युवाहरूले आफ्नो जीवनका सुन्दर वर्षहरू समर्पित गरेका थिए। तीमध्ये महिलाहरूको सङ्ख्या पनि उल्लेखनीय रहेको थियो ।

आजभन्दा चार दशकभन्दा पहिलेको अवस्थामा नेपाली समाजमा व्याप्त पुरातन सोच र संरचनालाई चुनौती दिँदै महिलाहरूले परिवार, समाज र राज्यका अनेक बन्धनहरू तोड्दै समाजमा भूमिगत राजनीतिमा होमिनु सहज कुरा थिएन । तर उहाँहरूले अदम्य साहस, अटुट समर्पण र दृढ विश्वास देखाउँदै इतिहास रचना गर्नुभयो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरूले पुर्‍याउनु भएको योगदानको जगमाथि उभिएर नै आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा स्थापित भएको छ । साथसाथै, महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा पनि हामीले संवैधानिक, नीतिगत तथा कानुनी दृष्टिबाट उल्लेखनीय उपलब्धिहरू हासिल गरेका छौँ ।

नेपालको संविधानले महिलाको समानताको हक, समानुपातिक सहभागिताको हक, प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार, महिलाविरुद्ध हिंसामा प्रतिबन्ध लगायत महिलाका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा स्थापित गरेको छ ।

राज्यका महत्वपूर्ण निकाय तथा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिमूलक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । तथापि, समाजमा विद्यमान पितृसत्तात्मक सोच, गरिबी, अशिक्षा, अन्धविश्वास र कतिपय कुप्रथाका कारण संविधान र कानुनद्वारा प्रदत्त अधिकारहरूको व्यहारिक कार्यान्वयनमा अझै चुनौतिहरू बाँकी रहेका छन् ।

हाम्रो समाजमा आज पनि बालविवाह, बहुविवाह, दाइजो तथा तिलक प्रथा, छाउपडी र बोक्सीको आरोप जस्ता महिलाद्वेषी कुपरम्पराहरू कायमै रहेका छन् । यसैगरी घरेलु हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, बलात्कार तथा हत्या जस्ता जघन्य हिंसाबाट नेपाली महिलाहरू पीडित बन्नु परिरहेको छ । यस प्रकारका हिंसाको निरन्तरताले महिलाहरूको सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानवअधिकार समेत खोसिएको छ ।

यसरी समाजमा गहिरोसँग जरा गाडेका प्रथा, परम्परा, मूल्य र मान्यताहरू केवल कानुनले मात्र परिवर्तन हुँदैनन् । यसका लागि परिवार, समुदाय, शैक्षिक संस्था र सञ्चार माध्यममार्फत निरन्तर सचेतना अभियान आवश्यक छ । महिला विरुद्धको हिंसा र विभेद अन्त्य गर्न, लैङ्गिक समानता प्रवर्द्धन गर्न, महिलाको शैक्षिक र आर्थिक सशक्तीकरण र समाजको सांस्कृतिक रूपान्तरणका लागि सबैले प्रयास गर्नु पर्छ ।

बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध हदैसम्मको कानुनी कारबाही गर्न राज्यले तदारुकता देखाउनु आवश्यक छ । यसका लागि नागरिक समाज र महिला संगठनहरूले निरन्तर आवाज उठाइरहनु अपरिहार्य छ । त्यसैले, आज हामीले भूमिगत राजनीतिमा संलग्न अग्रज महिलाहरूको साहस र समर्पणबाट प्रेरणा लिदै नयाँ पुस्तालाई समेत न्याय, समानता र स्वतन्त्रताको मार्गमा अगाडि बढ्न उत्प्रेरित गर्नु पर्दछ । ‍

ती साहसी र हिम्मतिला महिलाहरूले नेपाली समाजको अग्रगति र प्रगतिशील रूपान्तरणका लागि भूमिगत राजनीतिमार्फत पुर्‍याउनुभएको अतुलनीय योगदानको सम्मान, अभिलेखन तथा प्रकाशनमार्फत न्याय र समानताको पक्षमा निरन्तर सक्रिय रहन नयाँ पुस्तालाई समेत प्रेरणा मिल्नेछ भन्ने अपेक्षा मैले लिएको छु ।

अन्तमा, आज यहाँ सम्मानित हुनु भएका अग्रणी व्यक्तित्वहरूलाई म हार्दिक बधाई दिदै उत्तरोत्तर प्रगतिको कामना गर्न गर्दछु । साथै, ‘वर्गीय मुक्ति, लैंगिक समानता र सामाजिक न्यायको योद्धा भूमिगत महिलाʼ जस्तो महत्वपूर्ण पुस्तक प्रकाशनका लागि मोतीदेवी स्मृति केन्द्र र यसको पहलकर्ता डा. विन्दा पाण्डेलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०८२ फागुन २८ गते