वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाकक्ष, वीरगञ्ज, पर्सा ।

कार्यक्रमका सभाध्यक्ष तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री हरिप्रसाद गौतम,

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू,

उद्योग र वाणिज्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरू,

सञ्चारकर्मीहरू,

उपस्थित दिदीबहिनी दाजुभाइहरू ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘वृहत महिला सम्मेलन–२०८२’ अन्तर्गत ‘नारी शक्ति, समर्पण र सम्मान’ विषयक गोष्ठीमा सहभागी हुन पाउनु मेरो लागि हर्षको विषय हो । बारा–पर्सा क्षेत्रका उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा सक्रिय दिदीबहिनीहरूसँग भेटघाट र विचार–आदानप्रदान गर्ने अवसर प्रदान गरेकोमा आयोजक संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

महिला शक्ति केवल परिवारको हिस्सा मात्र नभई सम्पूर्ण समाजको प्रगतिको आधार पनि हो । परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा–स्वास्थ्य र सामाजिक रूपान्तरणसम्म महिलाको योगदान सधैं अग्रपंक्तिमा रहँदै आएको छ, तर समाजमा महिलाको योगदानलाई अपेक्षित सम्मान अझै प्राप्त भएको छैन । त्यसैले, अब हामीले महिलाहरू पनि नेतृत्व गर्न, उद्यम सञ्चालन गर्न र समाज परिवर्तन गर्न पूर्ण रूपमा सक्षम छन् भन्न सक्ने अवस्थाको सिर्जना गर्नु पर्दछ ।

वीरगञ्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु भनेको केवल व्यक्तिगत सफलता होइन, सिङ्गो देशको अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा पनि हो । यही कारणले, महिला उद्यमशीलतालाई सम्मान गर्नुपर्छ, प्रोत्साहन गर्नुपर्छ र आगामी पुस्तालाई प्रेरणा दिने गरी अघि बढाउनुपर्छ ।

हामीले हाम्रो समाजमा अझै बाँकी रहेका लैङ्गिक असमानता, पूर्वाग्रह र अवरोधहरू तोड्नुपर्नेछ । यसका लागि महिलाले आफैं आत्मविश्वासी बन्नुपर्छ, समाजलाई सकारात्मक ढङ्गले चुनौती दिनुपर्छ र परिवर्तनको नेतृत्व लिनुपर्छ । तपाईँहरूको उद्यमशीलता केवल व्यक्तिगत उपलब्धि होइन, यो सिङ्गो समाजलाई अगाडि बढाउने ऐतिहासिक योगदान हो ।

आजको गोष्ठीको विषयवस्तुले हामीलाई के स्पष्ट सन्देश दिन्छ भने, महिलाको शक्ति, उनीहरूको त्याग र समर्पणलाई संस्थागत रूपमा सम्मान गर्न सकियो भने मात्र समानता, दिगो विकास र समृद्ध नेपालको सपना पूरा हुन्छ ।

हाम्रो देश नेपाल प्राकृतिक स्रोत, जनशक्ति र सांस्कृतिक विविधतामा सम्पन्न राष्ट्र हो । यी स्रोत र साधनहरूको दिगो र विवेकपूर्ण उपयोगबाट सुदृढ र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्ने अवसर हामीसँग छ । त्यसैले, अब हामीले उपलब्ध प्राकृतिक स्रोत, स्थानीय क्षमता र सांस्कृतिक सम्पदालाई आर्थिक गतिविधिमा रूपान्तरण गर्नु आवश्यक छ ।

बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न हामीले आयात प्रतिस्थापनको नीति अपनाएर स्वदेशी उत्पादन बढाउन सक्नुपर्दछ । हामीले कृषिमा आधारित उद्योग, जडीबुटी र आयुर्वेदिक उत्पादन, साना तथा मझौला उद्यम, पर्यटन, ऊर्जा र सूचना–प्रविधि जस्ता तुलनात्मक लाभका क्षेत्रहरूमा उद्योग र उद्यमशीलताको विकासमा ध्यान दिनुपर्छ । यसले मात्र हाम्रो अर्थतन्त्रमा स्थायित्व ल्याउनेछ र बहुसंख्यक नागरिकलाई रोजगारीको अवसर प्रदान गर्नेछ । यसरी हामीले हाम्रो मुलुकले सबल, सुदृढ र आत्मनिर्भर र अर्थतन्त्र निर्माण गर्ने सपना साकार पार्न सक्दछौँ । तर यसका लागि निजी क्षेत्र, सहकारी र राज्यको सन्तुलित भूमिका अपरिहार्य हुन्छ ।

उद्योग र व्यापारको केन्द्रको रूपमा परिचित वीरगञ्जले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोर, सिमरा विशेष आर्थिक क्षेत्र र वीरगञ्ज सुख्खा बन्दरगाहको व्यवस्थित सञ्चालनले यस क्षेत्रलाई उद्योग र व्यापारको सशक्त केन्द्रका रूपमा स्थापित गर्न सक्दछ । त्यसैगरी, कृषकहरूको बहुल्यता रहेको बारा जिल्ला माछापालन, केरा, तरकारी, उखु र अन्नबाली उत्पादनमा अग्रणी जिल्ला मानिन्छ । ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको सिम्रौनगढ, प्रसिद्ध गढिमाई मन्दिर र पर्सा वन्यजन्तु निकुञ्जले यस जिल्लामा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँछन् । यी सबै क्षेत्रको समन्वित विकास मार्फत पर्सा र बारा जिल्लालाई उद्योग, कृषि र पर्यटन विकासको नमूनाको रूपमा स्थापित गर्न सकिन्छ ।

आजको यस अवसरमा, म तराई–मधेश क्षेत्रका जनताले भोगिरहेका केही प्रमुख समस्याहरूको बारेमा पनि उल्लेख गर्न चाहन्छु ।

चुरे क्षेत्रको अनियन्त्रित दोहनका कारण तराई–मधेशमा बाढी, डुबान, जमिन कटान र मरुभूमिकरण बढिरहेका छन् । यसबाट उर्वर भूमि नष्ट हुनुका साथै भूमिगत पानीको स्तर घटाइरहेको छ, जसले कृषि, खानेपानी र जनजीवनलाई समेत गम्भीर असर पुर्‍याइरहेको छ ।

यसैगरी, उखु किसानहरूले उत्पादनको उचित मूल्य नपाउनु, बक्यौता भुक्तानीमा ढिलाइ हुनु र आधुनिक प्रविधि तथा सिंचाइको अभाव जस्ता चुनौती सामना गरिरहेका छन् । यी समस्याहरू समयमै समाधान नभए किसानहरूको कृषिप्रति लगाव घट्ने मात्र होइन, कृषिमा आधारित उद्योग र ग्रामीण अर्थतन्त्रमा पनि नकारात्मक असर पर्दछ ।

तराईका जिल्लाहरूमा मीटरब्याजी साहुहरूको अमानवीय क्रियाकलापका कारण पीडित ऋणीहरू गम्भीर समस्यामा छन् । यसको समाधानका लागि सरकारले कडाइका साथ नियमन गर्नु, उजुरी प्रक्रिया सजिलो बनाउनु, ऋण–लेनदेन पारदर्शी बनाउनु र विपन्न परिवारलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनु आवश्यक छ ।

पछिल्ला वर्षहरूमा सहकारी क्षेत्रमा पनि उच्च ब्याजको प्रलोभन देखाएर असुरक्षित लगानी गराउने क्रियाकलापका कारण हजारौँ सदस्यहरूले आफ्नो मेहनतको कमाई गुमाइरहेको छन् । यस समस्याको समाधानका लागि पारदर्शिता, कडाइका साथ नियमन, पीडितको क्षतिपूर्ति र संस्थागत पुनर्गठन अपरिहार्य बनेको छ ।

अन्त्यमा, “नारी शक्ति, समर्पण र सम्मान” विषयक अत्यन्त सामयिक गोष्ठीको आयोजना गरेकोमा आयोजक संस्था वीरगञ्ज उद्योग वाणिज्य सङ्घलाई धन्यवाद दिदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । 

धन्यवाद ।

२०८२ साल भाद्र १४ गते, शनिबार ।