१७औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन उत्सर्ग गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय‚ नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्दछु ।

वि.सं. २०६५ साल ज्येष्ठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो वैठकद्वारा २४७ वर्षदेखि नेपालमा कायम रहेको राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं ।

कुनै पनि शासन प्रणालीको सफलता वा असफलतालाई त्यसले प्रवाह गर्ने सेवाको गुणात्मकता र त्यसलाई सञ्चालन गर्ने पात्र र प्रवृत्तिले निर्धारण गर्दछ । तसर्थ, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दूमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्दछ । नेपालको संविधानले जनताका आधारभूत अधिकारहरूलाई मौलिक हकका रूपमा सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको व्यवहारिक कार्यान्वयन मार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आर्जन गर्न सकिन्छ ।

अन्तमा‚ आजको यस ऐतिहासिक दिवसले संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकासमार्फत सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशातर्फ अग्रसर हुन हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु ।

धन्यवाद ।