विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औँ जन्मजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्माण भएको अत्यन्त दुर्लभ त्रिसंयोगको रूपमा रहेको वैशाख पूर्णिमालाई विश्‍वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ । नेपालका विभूति गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको बारेमा दिनु भएको शिक्षा र प्रतिपादन गर्नु भएको सिद्धान्त र दर्शनलाई मान्यता प्रदान गर्दै संयुक्त राष्ट्रसंघले समेत सन् १९९९ देखि बुद्ध जयन्तीलाई ‘वैशाख दिवस’को नाममा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।  

विश्वका विभिन्न भूभागमा मानवजातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनु परेको वर्तमान परिप्रेक्ष्यमा अहिंसा, करुणा, पारस्परिक सम्मान र सद्भावका साथै शान्तिपूर्ण विश्वका लागि बुद्धले दिनुभएका सन्देशहरू आज पनि उत्तिकै मननीय र उपयोगी रहेका छन् । बुद्धका उपदेशहरूको पालना एवं अनुसरण गर्न सकेमा हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मानलाई थप सुदृढ गर्न सकिन्छ । तसर्थ, समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको छ ।

अन्तमा‚ गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक¸ सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्‍भाव¸ सहिष्णुता र बन्धुत्वको  भावना अभिवृद्धि गराई वृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन म सबैमा हार्दिक आह्वान गर्दछु ।

धन्यवाद ।