पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हाल काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा बढ्न गएको वायु प्रदुषणको विषयमा दिनुभएको सन्देश
हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागहरूमा वायु प्रदूषण गम्भीर रूपमा बढिरहेको अवस्था छ । विशेषगरी काठमाडौँ उपत्यकाको वायुको गुणस्तर स्वास्थ्यका दृष्टिले अत्यन्तै खराब अवस्थामा पुगेको छ, जुन अवस्था सबैका लागि चिन्ताको विषय हो । यो स्थितिले हाम्रो बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई बढी प्रभावित बनाएको छ । यस्तो समयमा हामी सबैले एकआपसमा समन्वय, सहकार्य, र सचेत जिम्मेवारीका साथ अघि बढ्नु अति आवश्यक भएको छ ।
वायु प्रदूषण कुनै एक पक्षको मात्र समस्या होइन, यो हामी सबैको साझा चुनौती हो । त्यसैले यस समस्याको समाधान पनि हामी सबैको सामूहिक प्रयासबाटै सम्भव छ । यस सन्दर्भमा म नीतिनिर्माताहरू, सम्बन्धित सरकारी तथा स्थानीय निकायहरू, उद्योग क्षेत्र, वातावरणप्रेमी मित्रहरू र सम्पूर्ण नागरिकमा केही महत्वपूर्ण कुराहरूमा गम्भीर ध्यान दिन हार्दिक अनुरोध गर्न चाहन्छु ।
वन डढेलो नियन्त्रणका लागि तुरुन्त प्रभावकारी कदम चालिनु आवश्यक छ । समयमै निगरानी, आगलागी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गरिनुपर्छ । सवारी साधन र उद्योगबाट हुने प्रदूषण नियन्त्रण गर्न आवश्यक कडा मापदण्डहरू अवलम्बन गरिनुपर्छ । प्रदूषण परीक्षण प्रणालीलाई प्रभावकारी र सबैका लागि अनिवार्य बनाउनुपर्छ । सडक र निर्माण स्थलहरूबाट उब्जिने धुलो नियन्त्रण गर्न नियमित निरीक्षण र व्यवस्थापन प्रणाली बलियो पारिनुपर्छ । साथै, जनस्तरमा वातावरणीय सचेतना फैलाउने कार्यलाई अझ सशक्त र प्रभावकारी बनाइनुपर्छ ।
म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पनि आग्रह गर्न चाहन्छु—हामी प्रत्येकले आफ्नो ठाउँबाट स्वच्छ वातावरण निर्माणमा योगदान दिऔँ । सकेसम्म सार्वजनिक सवारी साधनको प्रयोग गरौँ, फोहोर नजलाऔँ र हरियाली बढाउने काममा जुटौँ ।
हाम्रो सास फेर्ने हावा हामी सबैको साझा सम्पत्ति हो । यसलाई स्वच्छ, सुरक्षित र सन्तुलित राख्न आजैदेखि सजग भएर जिम्मेवारीपूर्वक कदम चाल्न म सबैमा हार्दिक आग्रह गर्दछु ।
धन्यवाद ।