पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८० सालको अवसरमा दिनुभएको शुभकामना सन्देश
नयाँ वर्ष २०८० साल र नयाँ दशक समेतकोसुखद् प्रारम्भको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगतको आकाङ्क्षा मुखरित गर्ने अवसरका रूपमा हामीले स्वागत गर्दै आएका छौं । विगतको दशकमा हामीले जनताका प्रतिनिधिमार्फत नयाँ संविधान निर्माण गर्यौँ । दशकको मध्यतिर हासिल गरिएको ७ प्रतिशतको आर्थिक वृद्धिदर इतिहासकै उच्चमध्ये रहेतापनि कोभिड–१९ महामारी लगायतका कारणले त्यसलाई निरन्तरता दिन सकिएन । संविधानले परिकल्पना गरेको समावेशी लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नका लागि जनताको समृद्धिलाई केन्द्रमा राख्दै सुशासन र सहज सेवा प्रवाहमा जोड दिन म सम्पूर्ण राजनीतिक दल र निर्वाचित जनप्रतिनिधिहरूमा हार्दिक अपील गर्दछु ।
आज हाम्रो सामु युवा शक्तिलाई मुलुकको विकासमा सहभागी गराउने, उद्यमीहरूका निम्ति अवसर सृजना गर्ने तथा कृषि, शिक्षा र नवप्रवर्तनका क्षेत्रमा नेपालको क्षमता प्रदर्शन गर्ने ठूलो चुनौती विद्यमान छ । समयको गतिसँगै प्राप्त हुने अवसरलाई सदुपयोग गर्न सकेमा मात्रै जनताले देखेको प्रगतिको सपना वास्तविक अर्थमा साकार पार्न सकिन्छ । नेपाली जनताको समृद्धि र प्रगतिको आकाङ्क्षालाई सम्बोधन गर्दै नेपाली सपनाको समवेत स्वरूप दिन नयाँ वर्षले हामी सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद ।