पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उभौली पर्व, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश
किराँत समुदायको महान् पर्व उभौलीको सुखद् अवसरमा राई, लिम्बू, सुनुवार, याक्खा लगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जाडो सकिएर गर्मी मौसम सुरु भएसँगै मानिस, जीवजन्तु तथा पशुपंक्षीहरू उँधोबाट उँभोतिर बसाइँ सर्ने समयमा वैशाख शुक्ल पूर्णिमाको दिन किरात समुदायद्वारा मनाइने उभौली पर्वको अवसरमा लगाइएको अन्नबाली सप्रियोस्, खडेरी, बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिहरू नआउन् भनी प्रकृति र पितृको पूजा गर्ने विशिष्ट परम्परा रहेको छ ।
प्राकृतिक ऋतुचक्रसँग एकाकार भएर जीवन निर्वाह गर्न अभ्यस्त किराँत समुदायको यस सांस्कृतिक पर्वले मानव र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दछ । उभौली जस्ता पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्नेछ । समाजमा विद्यमान एकता र सामुदायिक मेलमिलापलाई अझ कसिलो बनाउन यस अवसरमा म सबैलाई आव्हान गर्दछु ।
यस वर्षको उभौली पर्वले हामी बीचको सामाजिक-सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक‚ सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।