आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना प्रकट गर्दछु ।

आजभन्दा २१० वर्षअघि तनहुँ जिल्लाको चुम्दी रम्घा भन्ने ठाउँमा जन्मिनुभएका नेपाली भाषाका आदिकवि भानुभक्त आचार्य आफ्नो समयका एक सचेत, जागरूक एवं प्रगतिशील व्यक्तित्व एवं उम्दा श्रष्टा हुनुहुन्थ्यो । उहाँले त्यस समयको समाजमा व्याप्त पछौटेपन एवं प्रशासनिक ढिलासुस्तीप्रति कविताको माध्यमबाट कटु व्यङ्ग्य गर्दै सामाजिक जागरणको पहल गर्नुभएको थियो । त्यसैगरी उहाँले संस्कृत भाषामा लेखिएको वाल्मिकी रामायणलाई सरल एवं  काव्यिक मिठासले भरिपूर्ण नेपाली भाषामा उल्था गरेर नेपाली भाषाको विकास र विस्तारमा विशिष्ट योगदान गर्नु भएको छ ।  नेपाल र नेपाल बाहिर रहेका नेपाली भाषी समुदायका बीचमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गरी वृहत् नेपाली राष्ट्रिय भावनाको विकास र विस्तारमा भानुभक्तीय रामायणको अद्वितीय योगदान रहेको छ ।

यस अवसरमा भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्‍याउनु भएको विशिष्ट योगदानलाई सम्मान गर्न उहाँको जन्मदिनलाई राष्ट्रिय पर्वका रूपमा मनाउन म नेपाल सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु ।

अन्तमा, २१०औँ भानु जयन्तीको यस अवसरले आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण, विकास र विस्तार गर्न हामी सबै नेपालीहरूलाई  प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०८० असार २९ गते शुक्रबार ।