नेपाली जनताको दशकौँ लामो संघर्ष र बलिदानको फलस्वरूप जननिर्वाचित संविधानसभाद्वारा वि.सं. २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस अवसरमा, म स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा संविधान दिवस तथा राष्ट्रिय दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएका विभिन्न आन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

हाम्रो संविधानले नेपालको स्वतन्त्रता‚ सार्वभौमसत्ता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न नेपाली जनतालाई अधिकारसम्पन्न बनाएको छ । वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यसका साथै, लैङ्गिक समानता कायम गर्न राज्यका सबै निकायहरूमा महिला सहभागिता‚ हाम्रो सामाजिक एवं भौगोलिक विविधताको समावेशीकरण तथा मौलिक अधिकारहरूको प्रत्याभूतिबाट वर्तमान नेपालको संविधान आफैँमा ऐतिहासिक उपलब्धिका रूपमा रहेको छ । तथापि, पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई शासनको मूल प्रवाहमा समाहित गर्न अवलम्बन गरिएको समावेशीकरणलाई लक्षित वर्ग र समुदायमा अझै सशक्त रूपमा पुर्‍याउनु आवश्यक छ ।

सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि नेपालको संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न तथा संविधानले सुनिश्चित गरेका मौलिक हक अधिकारहरूको कार्यान्वयन गर्दै राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नका लागि सुदृढ, सबल र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नु आवश्यक छ । यसका लागि मुलुकमा उपलब्ध प्राकृतिक स्रोतको दिगो उपयोग तथा उर्जाशील युवाशक्तिसहित मानव संसाधनको सदुपयोग गरी अपार सम्भावना भएको कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको विकास गर्नु पर्दछ ।

संविधानले व्यवस्था गरेका सुन्दर प्रावधानहरू र मूल्यमान्यताहरू स्वयम् कार्यान्वयन हुन सक्दैनन् । राजनीतिक दलहरूको दृढ सङ्कल्प, चुस्त, पारदर्शी र कामयावी कर्मचारीतन्त्र तथा जागरुक नागरिकको जिम्मेवारीपूर्ण भूमिकाबाट मात्रै ती प्रावधानहरूको कार्यान्वयन हुन सक्दछ । तसर्थ, संविधान कार्यान्वयनको समीक्षा गरी सकारात्मक पक्षलाई आत्मसात गर्दै कमीकमजोरीहरू सुधार गरेर अगाडि बढ्ने विषयमा राजनीतिक दलहरूका बिचमा समझदारी बनाइनु पर्दछ । संविधान दिवसले यस दिशामा लाग्न हामी सबैलाई अभिप्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद ।