नेपालले संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई २०४७ साल भदौ २९ गते (तदनुसार १४ सेप्टेम्बर, १९९०) का दिन अनुमोदन गरी उक्त महासन्धिमा उल्लेखित बालअधिकारका प्रावधानहरूप्रति प्रतिबद्धता जनाएको दिनको स्मरण गर्दै हरेक वर्ष भदौ २९ गते हामीले ‘राष्ट्रिय बाल दिवस’ मनाउँदै आएका छौँ । यस वर्ष पनि “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने मूल सन्देशका साथ राष्ट्रिय बालदिवस विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गरी मनाइँदैछ । यस अवसरमा, अभिभावकविहीन तथा जोखिममा रहेका बालबालिकालाई आवासीय हेरचाह प्रदान गर्नुका साथै उनीहरूको अधिकार संरक्षण र संवर्द्धन गर्दै बालबालिकाको सर्वोत्कृष्ट हितमा काम गर्दै आएको संस्था नेपाल बाल संगठनमार्फत म सम्पूर्ण नेपाली बालबालिका तथा अभिभावकहरूमा राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

राष्ट्रसंघीय बालअधिरकारसम्बन्धी अभिसन्धिप्रति जनाइएको प्रतिबद्धताअनुरुप नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको छ । तथापि, राज्यबाट संवैधानिक‚ नीतिगत‚ कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि आफ्नो बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित हुनु परेको अवस्था कायमै रहेको छ । तसर्थ, म सम्पूर्ण अभिभावक, शिक्षक, नीति निर्माता र नागरिक समाज लगायत सरोकारवालाहरूलाई बालबालिकाको सर्वाङ्गीण विकासको लागि आपसी समन्वय गर्दै सहकार्य गर्न आग्रह गर्न चाहन्छु ।

आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार हुन् । बालबालिकामा गरिएको लगानीले बालबालिका वा अभिभावकले मात्र नभई समाज र राष्ट्रले नै लाभ लिन सक्दछन्। तसर्थ, बालबालिकाले भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्ति उनीहरूको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाको लागि गर्नुपर्ने लगानीको लागि राष्ट्रिय बाल दिवसले हामी सबैमा जिम्मेवारी बोध गराउँने छ भन्ने अपेक्षा गरेको छु ।

धन्यवाद ।