पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्व वातावरण दिवस (जुन ५) २०२४ को अवसरमा दिनुभएको शुभकामना सन्देश
विश्व वातावरण दिवस (जुन ५) २०२४ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
संयुक्त राष्ट्रसंघको आह्वानमा वातावरण संरक्षणको बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष जुन ५ तारिखका दिनलाई ‘विश्व वातावरण दिवस‘ का रूपमा मनाउन सुरु गरिएको आज ५१ वर्ष भएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भविष्य भन्ने मूल नाराका साथ मनाइने यस वर्षको विश्व वातावरण दिवसले भूमि पुर्स्थापनाको विषयलाई केन्द्रविन्दूमा राखेको छ । हामीले पनि आजको दिनलाई हाम्रा भावी सन्ततिको सुरक्षित भविष्यका लागि हाम्रो वरिपरि रहेको जमिन तथा वातावरण संरक्षण गर्न प्रतिवद्ध भई कामको थालनी गर्ने अवसरको रूपमा उपयोग गर्न सक्नु पर्दछ ।
प्राकृतिक सन्तुलनमाथि नकारात्मक दवाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिकीय प्रणालीहरू जोखिममा परेका छन् । प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन, अविवेकी उपभोग, अव्यवस्थित रूपमा गरिने विकास निर्माण कार्य जस्ता मानवीय क्रियाकलाप तथा जलवायु परिवर्तनका कारण हाम्रो वातावरणमा असामान्य असन्तुलन उत्पन्न भएको छ । जसका कारण आज हामी वायु प्रदुषण, जैविक विविधताको नाश, जलवायु परिवर्तन जस्ता सङ्कट भोग्न बाध्य भएका छौँ ।
जलवायु परिवर्तनले विश्वव्यापी सङ्कटको स्वरूप ग्रहण गरिरहेको परिवेशमा दिगो पारिस्थितिकीय प्रणालीको संरक्षण गर्दै प्रकृति र मानव बीच सहअस्तित्व कायम राख्न आज नागरिक समाज, निजी क्षेत्र र सबै तहका सरकारहरू जिम्मेवार बन्न जरुरी छ । यसका लागि एकातिर ईनार, पोखरी, नदी, ताल लगायतका पानीका स्रोतहरूको संरक्षण, जमीनमुनिको पानीको दिगो सदुप्रयोग र पुनर्भरण, जैविक खेती प्रणालीको प्रवर्द्धन, विद्युतीय चुलो र सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ भने अर्कोतिर विषादि एवं करेण्ट प्रयोग गरी माछा मार्ने कार्यमा रोक, डढेलो लगाउँने प्रवित्तिमाथि रोक, प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा न्यूनीकरण तथा व्यवस्थापन जस्ता आधारभूत विषयलाई चक्रीय अर्थतन्त्रको सिद्धान्त अनुसार जीवनको अभिन्न अङ्गको रूपमा ग्रहण गर्नुपर्ने हुन्छ ।
अन्तमा, प्रकृतिमाथि मानवीय हस्तक्षेपका कारण हाम्रो पारिस्थितिकीय प्रणालीमा उत्पन्न असन्तुलनलाई पुनर्स्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउदै वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।
धन्यवाद ।