सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति) ले बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित आ.व. २०८२/८३ वार्षिक नगर विकास योजना तथा आ.व. २०८१/०८२ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा गर्नुभएको सम्बोधन

बुढानीलकण्ठ नगरपालिकाको सभाहल, हात्तीगौंडा, काठमाडौँ ।
बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा यस कार्यक्रमका अध्यक्ष,
नगरपालिकाका पदाधिकारीहरू,
आमन्त्रित अतिथिहरू,
नगरका कर्मचारीगण,
सञ्चारकर्मीहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।
बुढानीलकण्ठ नगरपालिकाको आ.व. २०८२/८३ को वार्षिक नगर विकास योजना तथा आ.व. २०८१/८२ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने यस महत्वपूर्ण कार्यक्रममा सहभागी भई स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने अवसर प्रदान गरेकोमा आयोजकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । म स्वयं यस नगरपालिकाको स्थायी बासिन्दा भएकोले यो अवसरलाई मैले विशेष र अर्थपूर्ण रूपमा लिएको छु । यस अवसरमा, म बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरू, समर्पित कर्मचारीहरू तथा सम्पूर्ण नगरवासीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अहिले यो नगरपालकासाग मेरो भावनात्मक सम्बन्ध समेत जोडिएको छ । देशको राष्ट्रपति निर्वाचित भएर कार्यकाल पूरा गरेपछि मैले यसै नगरपालिकाका वडा नं. २ भङ्गालमा वितेका दुई वर्षदेखि बस्दै आएको छु । यस अर्थमा, म यस नगरपालिकाको स्थायी बासिन्दाको नाताले यहाँको सेवाग्राही समेत भएको छु र अब तपाईँहरूको सुख दु:खको साथी बन्न पुगेको छु । मुलुकको एक प्रसिद्ध सांस्कृतिक एवं पूरातात्विक नगरीको बासिन्दा हुन पाएकोमा म गर्व गर्दछु । यहाँको सामाजिक आर्थिक विकासको लागि मेरो तर्फबाट हुनसक्ने पहलकदमी हुने विश्वास समेत दिलाउन चाहन्छु ।
अहिले मुलुकमा रहेका ७५३ वटा स्थानीय तहहरू मध्येको एक महत्वपूर्ण स्थानीय तहका रूपमा बुढानीलकण्ठ नगरपालिकाले स्थापना कालदेखि नै आफ्नो विशिष्ट पहिचान स्थापित गर्दै आएको छ । यस नगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, साहित्य कला धर्म र संस्कृतिको प्रर्वद्धन तथा संरक्षण, समाजिक समावेशीकरण लगायतका क्षेत्रमा गरेका काम र प्राप्त गरेको प्रगति उल्लेखनीय रहेको छ । नगरपालिकाले हासिल गरेका यी उपलब्धी, अनुभव र असल अभ्यासहरू मुलुकका अन्य स्थानीय तहको लागि समेत एक उदाहरण हुन सक्दछ । यसका लागि अहोरात्र खटिने नगर प्रमुख, उप–प्रमुख, जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीहरू, मिहिनेती र सक्रिय स्थानीयबासी सबै धन्यवादका पात्र हुनुहुन्छ । तपाईँहरूको यो लगनशीलता भविष्यमा पनि कायम रहनेछ भन्ने विश्वास मैले लिएको छु ।
बुढानीलकण्ठ नगरपालिकाले आफ्नो वार्षिक नगर विकास योजनामा समावेश गरेका गुणस्तरीय सेवा सहितको २४ सै घण्टा अस्पताल, बहुउद्देश्यीय खेल मैदान, शैक्षिक पूर्वाधार विकास, उत्कृष्ट विद्यार्थी सम्मान तथा ‘रमाइलो शुक्रबार’ कार्यक्रमजस्ता पहलहरू प्रशंसनीय छन् । यस नगरलाई ‘अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणाले समेत मलाई खुसी प्रदान गरेको छ । यसैगरी, आगामी वर्षका लागि समेटिएका ‘मेयरसँग जेष्ठ नागरिक’, ‘नर्सिङ सेवा सहितको एम्बुलेन्स’, ‘मलाई अवसर देउ’ लगायतका सामाजिक सेवा तथा युवा, पर्यटन, वातावरण संरक्षण, प्रविधि, राजस्व वृद्धि र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका कार्यक्रमहरू उल्लेखनीय छन् । यी सबैले नगरको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने मैले विश्वास लिएको छु ।
आ.व. २०८२/०८३ को नीति, कार्यक्रम र बजेटले बुढानीलकण्ठ नगरपालिकाको लक्ष्य—‘स्वच्छ, शान्त, समृद्ध र पर्यटकीय नगर’ निर्माणमा टेवा पुर्याउँदै ‘आहा बुढानीलकण्ठ’ निर्माणको लक्ष्य साकार पार्न सहयोग पुर्याउनेछ । बजेटको प्रभावकारी कार्यान्वयनमार्फत यो नगरपालिका विगतझैं उदाहरणीय बन्ने मैले विश्वास लिएको छु । साथै, कार्यक्रम तथा बजेट समयमै कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारीहरूलाई विशेष आग्रह गर्दछु । यो नगरपालिका समृद्धिको यात्रामा निरन्तर अघि बढोस्, निर्धारित लक्ष्यहरू पूरा होउन्— मेरो सुभेच्छा सँधै तपाईहरूसँगै रहनेछ ।
यसैगरी, काठमाडौँ उपत्यकाको शिरमा अवस्थित शिवपुरी पर्वतको फेदीमा फैलिएको बुढानीलकण्ठ नगरपालिका प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पुरातात्त्विक सम्पदा, धार्मिक सहिष्णुता र सांस्कृतिक धरोहरहरूको अनुपम संगमस्थल पनि हो । यहाँ पाइने प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक तथा वातावरणीय सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै त्यसबाट प्राप्त लाभलाई स्थानीय समुदायसम्म प्रवाह गर्ने लक्ष्यका साथ नगरपालिकाले तयार पारी कार्यान्वयनमा ल्याएको पर्यटन गुरुयोजना पनि एक अत्यन्तै सराहनीय र दूरदर्शी पहल भएको मेरो बुझाइ रहेको छ ।
मलाई लाग्छ, स्थानीय सरकारहरू समृद्ध नेपाल निर्माणको लागि आधरस्तम्भ हुन् । स्वाधीन, सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा स्थानीय तहको ठूलो भूमिका हुन्छ । कृषि, पर्यटन, व्यापार व्यावसाय र सेवाका अन्य क्षेत्रको विकासमा प्रदेश र केन्द्र सरकारसँग बलियो सम्बन्ध बनाउन स्थानीय तह अग्रसर हुनु पर्छ भने प्रदेश र केन्द्र सरकारले समेत यसमा सहयोगी बन्नु पर्दछ ।
संविधानले दिएको अधिकारको प्रयोग गर्दै नगरपालिकाहरूले योजना निर्माणदेखि कार्यान्वयनसम्म जनप्रतिनिधिमार्फत प्रत्यक्ष जवाफदेहिता कायम गर्दै जानुपर्छ । त्यस्तै, योजनाको प्रभावकारिता त्यसबेला मात्र पुष्टि हुन्छ, जब नागरिकहरूले यसको प्रत्यक्ष लाभ महसुस गर्न सक्छन् । यस पक्षमा नगरपालिकाले थप ध्यान पुर्याउँदै अगाडि बढ्नेछ भन्ने मैले आशा लिएको छु ।
अन्त्यमा, आज सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नगर विकास योजना बुढानीलकण्ठ नगरको दिगो, समावेशी र समृद्ध भविष्य निर्माणमा एउटा मजबूत पाइला सावित होस् भन्ने शुभकामना व्यक्त गर्दै, यस कार्यक्रमको सफल आयोजनाका लागि नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।
धन्यवाद ।
२०८२ साल असार ३२ गते, बुधबार ।