पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (IDCPC) द्वारा आयोजित ‘छिमेकी देशहरूसँग साझा भविष्य निर्माण–राजनीतिक दलहरूको भूमिका’ विषयक संवाद कार्यक्रममा गर्नुहुने सम्बोधन

बेइजिङ, चीन
संवाद कार्यक्रमका अध्यक्षज्यू,
IDCPC का पदाधिकारीज्यूहरू,
विभिन्न मुलुकबाट आउनुभएका राजनीतिक दलका विशिष्ट नेतागण,
आदरणीय प्रतिनिधिहरू,
नमस्कार, अभिवादन !
सर्वप्रथम, चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग (IDCPC) लाई यो महत्वपूर्ण संवाद कार्यक्रम आयोजना गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, हामीलाई एकै मञ्चमा उभ्याएर हाम्रो साझा भविष्य निर्माणका विषयमा विचार आदान–प्रदान गर्ने अवसर उपलब्ध गराएकोमा आयोजकको सराहना गर्दछु ।
वर्तमान समयमा विश्वमा राजनीतिक, आर्थिक, प्राविधिक र पर्यावरणीय दृष्टिले तीव्र गतिमा परिवर्तन भइरहेको समयमा हामी यहाँ उपस्थित भएका छौँ । एकातिर विज्ञान तथा प्रविधि र नवप्रवर्तनले मानव जीवनमा अकल्पनीय परिवर्तन ल्याइरहेको छ भने अर्कोतिर असमानता, द्वन्द्व, शक्ति संघर्ष र विश्वव्यापी ध्रुवीकरणको चुनौतीले हाम्रो साझा भविष्यमा गम्भीर असर पार्ने खतरा छ । महामहिम राष्ट्रपति सी चिनफिङको “एउटै डुङ्गामा बसेर सँगै अघि बढ्नुपर्छ” भन्ने भनाई गहिरो अन्तरदृष्टियुक्त मार्गदर्शन हो जसले साझा र उज्ज्वल भविष्य भएको मानव समुदाय निर्माणतर्फको हाम्रो संकल्पलाई सुदृढ बनाउँछ ।
नेपाल र चीन बीचको सम्बन्ध प्राचिन इतिहास, साझा संस्कृति, पारस्परिक विश्वास, आपसी सम्मान र समान विकास दृष्टिकोणमा आधारित छ । यी सम्बन्धहरू राजनीतिक, आर्थिक र कूटनीतिक फाँटमा मात्र सीमित छैनन्, यसमा जनस्तरको भावनात्मक निकटता र आपसी सहयोग र मित्रताको परम्परागत अभ्यास जोडिएको छ । हामीले चीनको सार्वभौमिकता र ‘एक चीन’ सिद्धान्तको निरन्तर समर्थन गर्दै आएका छौं । सामाजिक आर्थिक हितमा सहकार्य र साझा समृद्धिको आधारमा हाम्रो मित्रता बलियो र विश्वसनीय हुँदै आएको छ । नेपाल र चीन दुबैले विकास र समृद्धिका लागि साझेदारीलाई रणनीतिक तहमा पुर्याएका छन् । यो साझेदारी अझ सुदृढ बन्दै जाने विश्वास लिएको छु ।
नेपालको वर्तमान यात्रा लोकतान्त्रिक गणतन्त्रको स्थायित्व, शान्तिपूर्ण सामाजिक रूपान्तरण र आर्थिक समृद्धितर्फ अग्रसर छ । यो मार्ग सरल छैन; यसले दीर्घकालीन सङ्घर्ष, स्पष्ट दृष्टिकोण, जनसहभागिता र नीतिगत प्रतिबद्धता माग गर्दछ । यस यात्रामा, चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक र समसामयिक अनुभव हाम्रा लागि मूल्यवान र मार्गदर्शक बनेको छ ।
‘चिनियाँ विशेषतासहितको समाजवाद’ले चीनलाई आर्थिक, सामाजिक, सांस्कृतिक र प्राविधिक क्षेत्रमा अभूतपूर्व सफलतामा पुर्याएको छ । नयाँ युगका लागि सी चिनफिङ विचारधाराको आलोकमा चीनले जनवादी गणतन्त्र स्थापना भएको शतवार्षिकी सम्ममा चीनलाई आधुनिक समाजवाद र सांस्कृतिक रूपले उन्नत राष्ट्र निर्माण गर्ने प्रयासले सार्थकता पाउनेमा हामी विश्वस्त छौँ । साथै चीनले ‘नयाँ युगको समाजवाद’ को दृष्टिकोण अघि सारेको छ, जसले राष्ट्रिय पुनर्जागरण, सामाजिक स्थायित्व, नवप्रवर्तन, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन, आत्मनिर्भरता र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई सन्तुलित ढङ्गले अघि बढाएको छ । असमानता र भेदभावलाई समाप्त पार्न ठूलो योगदान गरेको छ । यी सबै पक्षहरू विकासोन्मुख राष्ट्रहरूका लागि प्रेरणाको स्रोत बनेका छन् ।
नेकपा (एमाले)ले आफ्नै विशिष्ट परिस्थितिमा सामाजिक–आर्थिक परिवर्तनको मार्ग तय गर्दै आएको छ । जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्तले समाजवाद निर्माण गर्ने मौलिक अवधारणा प्रस्तुत गरेको छ । यस अवसरमा म नेकपा (एमाले)का तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारीले चीनको औपचारिक भ्रमण गरेर चिनीयाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई सुदृढ तुल्याउन खेल्नु भएको योगदानको स्मरण गर्न चाहन्छु । राष्ट्रिय राजनीतिलाई अनुकूल बनाउँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठन भएको वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने साझा राष्ट्रिय अभिभारा पूरा गर्न अग्रसर भइरहेको छ । विकासका लागि व्यक्तिगत, सामूहिक र राष्ट्रिय क्षमता बढाउनु पर्दछ भन्ने हाम्रो दृढ विश्वास छ ।
नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्ध केवल कूटनीतिक औपचारिकता होइन, यो विचार, व्यवहार, रणनीति र नीति निर्माणको सघन सहकार्य हो । विगत केही दशकहरूमा हामीबीच भएको उच्चस्तरीय भ्रमण, प्रशिक्षण, कार्यशाला, नीति संवाद र पार्टी–पार्टी सम्बन्धले दुवै पक्षलाई दरिलो वैचारिक परिपक्वता र संगठनात्मक अनुभव प्रदान गरेको छ । आज हामी क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिको गहिरो अध्ययन र साझेदारीको अभ्यासमार्फत एकअर्काबाट सिक्ने, सुधार्ने र सशक्त बन्ने प्रक्रियामा छौं ।
हामी सधैं चीनसँगको सम्बन्धलाई ‘साझा भविष्य निर्माणको साझेदारी’ को रूपमा हेर्छौं– जहाँ दुवै पक्ष बराबरी, पारदर्शिता, दीर्घकालीन मित्रता र परस्पर लाभमा आधारित रहन्छन् ।
चीनियाँ कम्युनिष्ट पार्टीले छिमेकी देशहरूका बारेमा शान्तिपूर्ण, सुरक्षित, समृद्ध, सुन्दर र मैत्रीपूर्ण घर निर्माण गर्ने साझा दृष्टिकोण प्रस्ताव गरेकोमा म त्यसको सराहना गर्दछु । एसिया विविध सभ्यता र संस्कृतिसहित धर्तिको एक तिहाइ भू–भाग ओगटेको र विश्वको दुई तिहाइ जनसङ्ख्या बसोबास गर्ने सुन्दर महादेश हो । त्यसैले एसियाको शान्ति र समृद्धिले विश्वकै शान्ति र समृद्धिका लागि महत्वपूर्ण योगदान गर्दछ । चीनले साझा भविष्यको आदर्श तथा शान्ति, सहयोग, खुलापन र समावेशीताको एसियाली मूल्यहरू पालना गर्ने सिद्धान्तद्वारा निर्देशित राम्रो भविष्यको लागि छिमेकी देशहरूसँग काम गर्ने लक्ष्य राखेको छ । यी प्रस्तावहरू छिमेकी राष्ट्रका मुख्य चासोहरूसँग मिल्दाजुल्दा छन् र यिनले एसियाको विकासको लागि मार्गचित्र कोर्नेछन् । महामहिम राष्ट्रपति सी चिनफिङले “जब एसिया राम्रो हुन्छ, सम्पूर्ण विश्वलाई फाइदा हुन्छ” भनेर समेत जोड दिँदै आउनु भएको छ । यो अभिव्यक्तिले छिमेकी राष्ट्रहरूसँग साझा भविष्य भएको समुदाय निर्माण गर्ने चीनको दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ । हामी सबैले मिलेर एसियालाई विश्व शान्तिको प्रवक्ता, विकासको इन्जिन र आपसी सहयोगको केन्द्र बनाउने लक्ष्यसहित लचिलोपन, बुद्धिमत्ता र क्षमताको परिचय दिनु आवश्यक छ ।
हामी विभिन्न मुलुकहरू भिन्न भिन्न हौँ तर साझा भविष्यका लागि अभिन्न हौँ । यसबाट हामीले मार्गदर्शन लिइरहनु पर्दछ । हाम्रो विश्वास छ कि, एसियाली मुलुकहरूबीचको सहकार्य एउटा असल प्रारम्भ हो । यसले एसियाको पुनर्जारणलाई उजागर गरेको छ । त्यसैले, यो संवाद कार्यक्रम केवल एउटा बैठक होइन, बरु यो भविष्य निर्माण प्रक्रियाको महत्वपूर्ण थालनी हो ।
हामी चाहन्छौं, यस्ता संवादहरू विषयगत र नियमित बनून्– जहाँ नीति समन्वय, वैचारिक बहस, अनुभव साझेदारी र क्षेत्रीय पहलहरूको समीक्षा गर्न सकियोस् । यसले हामीलाई राष्ट्रियस्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमासमेत जिम्मेवार र प्रभावकारी राजनीतिक शक्ति बनाउँछ ।
हामीले भविष्यमा तीनवटा महत्वपूर्ण आयाममा सहकार्यलाई अघि बढाउन सक्नेछौँ:
पहिलो, नीति संवादको संस्थागत संरचना विकास गर्नु आवश्यक छ । पार्टी–पार्टीबीच उच्चस्तरीय नीति संवाद मात्र होइन, विषयगत कार्यसमूहहरू– जस्तै नवप्रवर्तन, हरित विकास, राजनीतिक प्रशिक्षण आदिमा आधारित सहकार्यले व्यवहारिक साझेदारीलाई बल दिन्छ ।
दोस्रो, युवापुस्ताका नेता र कार्यकर्ताबीच अन्तरक्रिया बढाउनु जरुरी छ । आजका युवा भोलिका निर्णायक नेतृत्वकर्ता हुन् । यदि हामीले उनीहरूलाई विचार, कार्यपद्धति र अन्तर्राष्ट्रिय दृष्टिकोणमा सशक्त बनाउन सक्यौं भने दीर्घकालीन दृष्टिमा हाम्रो सम्बन्ध अझ प्रगाढ र दिगो हुन्छ ।
तेस्रो, क्षेत्रीय शान्ति र स्थायित्वमा राजनीतिक दलहरूको योगदानलाई औपचारिक रूपमा स्थापित गर्नु पर्दछ । द्वन्द्वको समाधान तथा दिगो शान्तिको स्थापना, राजनीतिक स्थायित्व, जलवायु संकटको समाधान, आप्रवासनजस्ता विषयहरूमा दलहरूको भूमिका सशक्त र स्पष्ट हुनुपर्छ ।
यो सम्मेलन, यस्ता विषयमा साझा दृष्टिकोण र कार्ययोजना तर्जुमा गर्ने प्रस्थान विन्दु बन्न सक्दछ भन्ने मलाई लागेको छ ।
अन्तमा, म पुनः चिनियाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिन चाहन्छु, जसले यस्तो दूरदर्शी विषयमा संवाद आयोजना गरेर हाम्रो साझेदारीलाई थप उचाइमा पुर्याएको छ ।
नेपाल–चीन मित्रता अमर रहोस् ।
साझा भविष्य निर्माणको हाम्रो संकल्प सफल रहोस् ।
धन्यवाद ।