पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यको २९औं स्मृति दिवसको अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

तुल्सीलाल स्मृति भवन, च्यासल, ललितपुर
कार्यक्रमका सभाध्यक्ष तथा तुल्सीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष श्री गोपाल शाक्य,
पूर्व प्रधानमन्त्री श्री माधवकुमार नेपाल,
पूर्व मन्त्री श्री केशवप्रसाद बडाल,
प्रतिष्ठानका पदाधिकारीहरू,
विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू,
सञ्चारकर्मीहरू,
उपस्थित दिदीबहिनी तथा दाजुभाइहरू ।
सर्वप्रथम नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन तथा किसान आन्दोलनका अग्रणी नेता, सिद्धान्तनिष्ठ, त्यागी एवं आदर्श व्यक्तित्व स्वर्गीय तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, लोकतन्त्र, सामाजिक न्याय र जनताको अधिकारका लागि संघर्ष गर्ने सम्पूर्ण अग्रज योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु ।
तुल्सीलाल अमात्यले आफ्नो सम्पूर्ण जीवन विचार, सिद्धान्त र जनताको सेवामा समर्पित गर्नुभयो । आजभन्दा आठ दशकअघिको त्यो समयमा एम.ए. पास गर्ने औँलामा गन्न सकिने नेपालीहरूमध्ये उहाँ पनि एक हुनुहुन्थ्यो । त्यतिबेला उहाँसँग प्रतिष्ठित र सहज जीवन बिताउने प्रशस्त अवसरहरू थिए । तर उहाँले व्यक्तिगत सुविधा र सम्पन्नताको बाटो रोज्नुभएन, बरु किसान, मजदुर र उत्पीडित समुदायको हक र अधिकारका लागि संघर्षको कठिन र चुनौतीपूर्ण बाटो रोज्नुभयो । नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि नै उहाँ नेतृत्वदायी भूमिकामा रहँदै पार्टी निर्माण, किसान आन्दोलनको विस्तार, लोकतान्त्रिक अधिकारको रक्षा तथा शोषण र सामन्ती उत्पीडनविरुद्ध किसान र श्रमजीवी जनताको संघर्षलाई संगठित गर्न उहाँले महत्त्वपूर्ण योगदान पुर्याउनुभयो । विशेषगरी बारा, रौतहट र सर्लाहीमा उहाँको नेतृत्वमा भएको ऐतिहासिक किसान आन्दोलनले किसानहरूमा अधिकारप्रतिको चेतना जगाउन, उनीहरूलाई संगठित गर्न र सामाजिक परिवर्तनको आधार तयार गर्न उल्लेखनीय भूमिका खेलेको थियो ।
राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म उहाँले जेल, निर्वासन, सम्पत्तिको सर्वस्वहरणलगायत अनेकौँ दुःखकष्ट सहनुभयो, तर आफ्नो सिद्धान्तबाट कहिल्यै विचलित हुनुभएन । नेपालको कम्युनिष्ट आन्दोलन कठिन मोडमा पुगेका बेला पनि उहाँले आन्दोलनलाई सही वैचारिक दिशामा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । साथै, विभिन्न वामपन्थी शक्तिहरूबीच सहकार्य र एकता कायम गर्न तथा अध्ययन र वैचारिक बहसको संस्कृतिलाई सुदृढ बनाउन समेत उहाँले उल्लेखनीय योगदान पुर्याउनुभयो ।
आज हामीले प्राप्त गरेका लोकतान्त्रिक उपलब्धिका पछाडि तुल्सीलाल अमात्यजस्ता अग्रजहरूको लामो संघर्ष, त्याग र समर्पण रहेको छ । त्यसैले उहाँलाई सम्झनु भनेको केवल इतिहासको स्मरण गर्नु मात्र होइन, उहाँका आदर्श र मूल्यलाई वर्तमान जीवनमा आत्मसात् गर्नु पनि हो । आज लोकतान्त्रिक मूल्य, सार्वजनिक जीवनमा नैतिकता, सुशासन र जनउत्तरदायित्वबारे व्यापक बहस भइरहेका बेला उहाँको जीवनले राजनीति व्यक्तिगत लाभका लागि होइन, समाज र राष्ट्रको सेवाका लागि हुनुपर्छ भन्ने सन्देश दिन्छ ।
आज यस प्रतिष्ठानको स्थापना र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने संस्थापक सभापति एवं पूर्व प्रधानमन्त्री श्री माधवकुमार नेपाल तथा पूर्व सभापति एवं पूर्वमन्त्री श्री केशवप्रसाद बडाल सम्मानित हुनुभएकोमा उहाँहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा श्री माधवकुमार नेपालले पुर्याउनुभएको योगदान उल्लेखनीय रहेको छ । त्यसैगरी, किसान आन्दोलन तथा कृषि, भूमिसुधार र सहकारीसम्बन्धी नीतिगत बहस र अभ्यासलाई अघि बढाउन श्री केशवप्रसाद बडालले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ । यसका साथै, स्वर्गीय तुल्सीलाल अमात्यको वैचारिक विरासतको संरक्षण र प्रवर्द्धनमा उहाँहरू दुवैले निर्वाह गर्नुभएको भूमिकाप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु । यसैगरी, मरणोपरान्त सम्मानित हुनुभएका प्रतिष्ठानका संस्थापक उपसभापति स्वर्गीय श्रीमती कमला अमात्य तथा संस्थापक सचिव स्वर्गीय श्री भीमप्रसाद उपाध्यायको योगदानको पनि उच्च कदर गर्दछु ।
यसरी नै, तुल्सीलाल स्मृति दिवसको अवसरमा आयोजित उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा विजयी भई आज पुरस्कृत हुनुभएका विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दछु । तुल्सीलाल अमात्यका विचार, आदर्श र योगदानलाई विविध रचनात्मक क्रियाकलापमार्फत नयाँ पुस्तासम्म पुर्याउने तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्य अत्यन्त प्रशंसनीय छ । यस्ता प्रयासले इतिहासप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै लोकतान्त्रिक राजनीतिक संस्कृतिलाई पनि बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दछु ।
नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व श्री गोपाल शाक्यको नेतृत्वमा प्रतिष्ठानले सीमित स्रोत र साधनका बाबजुद पनि तुल्सीलाल अमात्यको सम्मान र स्मृतिलाई जीवन्त राख्न अध्ययन, अनुसन्धान तथा विविध कार्यक्रम सञ्चालन गर्दै आएकोमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको हार्दिक सराहना गर्दछु । यस्ता सिर्जनात्मक प्रयासले निरन्तरता पाउँदै अझ प्रभावकारी बन्दै जाऊन् भन्ने कामनाका साथ प्रतिष्ठानको उत्तरोत्तर प्रगति र सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस अवसरमा, हाल मुलुकमा उत्पन्न विशेष परिस्थितिबारे पनि म थोरै चर्चा गर्न चाहन्छु । केही दिनयता सुनसरीलगायत पूर्वी तराईका केही जिल्लाहरूमा देखिएका सामुदायिक तनाव र हिंसात्मक घटनाहरूले हामी सबैको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो । विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार हो । आजको यस संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई संयम अपनाउन, अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउन आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्दछु ।
अन्त्यमा, स्वर्गीय तुल्सीलाल अमात्यले स्थापित गर्नुभएको सिद्धान्तनिष्ठ राजनीति, त्याग, इमानदारी र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि निरन्तर प्रेरणाको स्रोत बनिरहोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०८३ श्रावण १७ गते