पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस, २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश
पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा म महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिको लागि भएका आन्दोलनमा योगदान गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।
२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरी नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनी रूपमा सुनिश्चित गर्ने आधार निर्माण गरिएको दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई ‘राष्ट्रिय महिला अधिकार दिवस’का रूपमा मनाउन थालिएको यो पाँचौँ वर्ष हो । उक्त विशेष प्रस्तावलाई तत्कालीन अन्तरिम संविधानले आफ्नो अङ्गको रूपमा ग्रहण गरेको थियो भने वर्तमान संविधानले त्यसलाई थप संस्थागत र सुदृढ गर्दै समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । यसै सन्दर्भमा आज हामी ‘महिला हक अधिकार: सवैको साझा सरोकार’ भन्ने मूल विषयका साथ पाँचौँ राष्ट्रिय महिला अधिकार दिवस मनाउँदैछौँ । यस अवसरमा महिला सहभागिताको विषय ‘आरक्षण’ नभएर नेपाली महिला आन्दोलनको प्रकाशबाट स्थापित अधिकारको उपयोग हो भन्ने कुरालाई सबैले आत्मसात गर्न आवश्यक छ ।
हामीले सुनिश्चित गरेका संवैधानिक तथा कानुनी व्यवस्थाको फलस्वरूप आज राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिला सहभागिता क्रमश: वृद्धि हुँदै गएकोछ । तथापि एकतिहाई महिला सहभागिताको संवैधानिक प्रावधानलाई व्यवहारमा उतार्न राज्यका सबै अङ्गहरूका साथै राजनीतिक दलहरूले विशेष ध्यान दिनु पर्दछ । सहभागिता वा उपस्थितिलाई सशक्तीकरणको पहिलो पाइला मात्र मान्न सकिन्छ । महिलाको क्षमता विकासमार्फत नेतृत्व तहमा प्रभावकारी भूमिका खेल्दै मुलुक र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने लैंगिक समानता हासिल गर्नु हाम्रो मुख्य उद्देश्य रहनुपर्दछ । यस दिशामा हामीले गर्नुपर्ने कामहरू धेरै नै बाँकी छन् ।
यसरी नीतिगत, कानुनी तथा कार्यक्रमिक प्रयासहरूका बाबजुद आज पनि विभेद, दुर्व्यवहार र हिंसाबाट महिलाहरूलाई पूर्ण रूपमा सुरक्षित गर्न सकिएको छैन । आज पनि नेपाली समाजमा बालविवाह‚ बहुविवाह‚ दाइजो तथा तिलक प्रथा‚ छाउपडी प्रथा‚ बोक्सीको आरोप लगायत महिलाद्वेषी सामाजिक सांस्कृतिक प्रथा र परम्परा कायम रहनुले हाम्रो सभ्यतामाथि नै उपहास भइरहेको अनुभूति हुन्छ । यसका साथै, सूचना प्रविधिको विकास एवं विस्तारका कारण आज महिला तथा बालबालिकाहरू अनलाइन यौनदुर्व्यवहार र उत्पीडनबाट समेत पीडित बन्ने क्रम बढ्नु थप चिन्ताको विषय बनेको छ ।
राष्ट्रिय जीवनका सबै क्षेत्रमा महिलाको अर्थपूर्ण र सम्मानजनक सहभागिता प्रत्याभूति गराउन पुरुष र महिला दुवैको सक्रिय भूमिका आवश्यक हुन्छ । लैङ्गिक समानताले पुरुषको जिम्मेवारीलाई समेत सहज, सशक्तीकृत र परिणाममुखी बनाउँछ, जसबाट परिवार, समाज हुँदै राष्ट्रको जीवनमा महिला र पुरुषको बराबर भूमिका स्थापित हुन सक्दछ । तसर्थ, सहअस्तित्वको शाश्वत सत्यलाई आत्मसात गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै महिलालाई शिक्षा, स्वास्थ्य र राष्ट्रिय उत्पादनमा व्यापक सहभागी गराउन आजको अपरिहार्य आवश्यकता हो ।
राष्ट्रिय महिला अधिकार दिवसबाट समाजमा विद्यमान पुरातन सोच, शैली, प्रथा र परम्परामा परिवर्तन गर्दै लैङ्गिक समानतायुक्त सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद ।